Wednesday, January 14, 2009

उमा सिंह

काठमाडौं, माघ १ (दैनिकी)– जनकपुरकी पत्रकार उमा सिंहको हत्या सुनियोजित र योजनाबद्ध ढंगले भएको प्रारम्भिक जानकारी घटनास्थल पुगेको पत्रकारको टोलीले दिएको छ।

टोलीका सदस्य शिव गाउँलेले राजधानीमा संक्षिप्त विवरण सार्वजनिक गर्दै भने– ´सिंहको हत्यामा १५ जनाभन्दा बढीको संलग्नता देखिएको छ। घटना सुनियोजित र योजनाबद्ध आक्रमण हो भन्न सकिन्छ।´

सिंहको हत्यालगत्तै जनकपुर पुगेको ७ सदस्यीय यो टोलीले राजनीतिक र सामाजिक मुद्दाहरू प्रखररूपमा उठाउने उनको खरो र हक्की स्वभाव नै हत्याको कारण भएको ठहर पनि गरेको छ।

शरीरमा पटकपटक हतियार प्रयोग गरी सिंहको हत्या भएका कारण यो असामान्य प्रकृतिको हत्या भएको उल्लेख गर्दै प्रतिवेदनमा यो घटना बदलाको भावनाबाट प्रेरित हुनसक्ने अनुमान गरिएको छ। ´यो बदलाको भावनाले गरिएको हत्या जस्तो देखिन्छ´, गाउँलेले भने– ´हत्याको वैज्ञानिक र गहन अनुसन्धान जरूरी छ।´ उनले पत्रकार सिंहका बबु र दाजुलाई माओवादीले वेपत्ता पारेकाले त्यस घटनालाई पनि जोडेर हेर्नुपर्ने बताएका छन्।

प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले हत्याको छानविन गर्ने क्रममा उनको राजनीतिक, सामाजिक र पारिवारिक पृष्ठभूमिलाई समेत आधार बनाइनुपर्ने बताउँदै भने– ´प्रहरी अहिलेसम्म हत्याराको नजिकसमेत पुगेको छैन, हत्यारालाई कारबाही नभएसम्म पत्रकारको आन्दोलन चलिरहनेछ।´

कनकमणि दीक्षितले हत्याको पछाडि राजनीतिक पृष्ठभूमि हावी भएको दावी गरे। ´यो संगठित आक्रमणजस्तो देखिन्छ´, उनले भने– ´निडर र साहसिक पत्रकार सिंहको हत्यापछि जनकपुरबासी त्रस्त छन्।´

कार्यक्रममा नारायण वाग्लेले तराईमा देखिएका सशस्त्र समूहले गलत जिम्मेवारी लिएर घटना र अनुसन्धानमा बाधा पुर्‍याउन सक्ने खतरा भएकाले पत्रकार सचेत हुनुपर्ने बताए।

टोलीले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानले सिंहकी आमा सुशीलादेवीलाई समेत अहिले धम्की आइरहेका कारण उनको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ।

News Source: http://dainikee.com/news/index.php?action=news_details&news_id=1814

उमा सिंहको यो निर्मम हत्याबारे समाचारहरु सुनेका दिनदेखि मेरो मनमा एक किसिमको उकुसमुकुस भइरहेको छ । निरंकुश राजतन्त्रको अन्त्य भयो गणतन्त्र आयो भनिन्छ भन्ने बेलामा, तर निर्दोष जनता आलु काटिए झैं काटिदैं छन् अझै पनि, यस्तो तालले खै कस्तो होला नेपालको भविष्य ?????

निश्चयपनि हत्याराको कारवाही नहुन्जेल उमाको आत्माले शान्ती पाउने छैन, छिटै नै ती बर्बर हत्यारा पत्ता लागुन्, उनको आत्माले शान्ती पाओस् अनि फेरि फेरि यस किसिममा निर्मम र निक्रिष्ट कार्य भएको हामीले देख्न भोग्न नपरोस् ।

No comments:

Locations of visitors to this page
Watch the latest videos on YouTube.com